काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको शक्तिशाली ’सार्वजनिक लेखा समिति’ को सभापतिमा नेपाली कांग्रेसका सांसद भरत बहादुर खड्का निर्विरोध निर्वाचित भएका छन्। सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकले खड्काको मात्रै मनोनयन परेपछि उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।
बिहीबार भएको मनोनयन दर्ताका क्रममा सांसद मोहन आचार्यको प्रस्ताव र सांसद जनकराज गिरीको समर्थनमा खड्काले उम्मेदवारी दर्ता गराएका थिए। प्रमुख प्रतिपक्षी दलले पाउने परम्परा रहेको यस समितिको नेतृत्व अन्ततः कांग्रेसको पोल्टामा परेको छ।
नवनिर्वाचित सभापति खड्काले पदभार ग्रहण गर्दै देशमा आर्थिक अनुशासनको अनुभूति हुने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन्। उनले मुलुकको विकासका लागि संघदेखि स्थानीय तहसम्म र विभिन्न निकायहरूमा वित्तीय सुशासन कायम राख्नुको विकल्प नभएको धारणा राखे।
सार्वजनिक खर्चको पारदर्शिता र बेरुजु घटाउने सन्दर्भमा लेखा समितिको भूमिका महत्वपूर्ण मानिन्छ। नवनिर्वाचित सभापति खड्काले सरकारी खर्चको अनियमितता रोक्न समितिले सक्रियतापूर्वक काम गर्ने स्पष्ट पारेका छन्।