काठमाडौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाका १० वटा विषयगत समिति र दुईवटा संयुक्त समितिका सभापति चयनका लागि आज (बिहीबार) उम्मेदवारी मनोनयन दर्ता हुँदैछ। संघीय संसद् सचिवालयले आज दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि मनोनयनको समय तोकेको छ।
सचिवालयका अनुसार मनोनयन दर्ताको कार्यक्रम सिंहदरबारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुनेछ। आज मनोनयन दर्ता भएपछि भोलि वैशाख ४ गते दिउँसो साढे ४ बजे उम्मेदवारहरूको अन्तिम नामावली सूची प्रकाशन गरिनेछ।
सभापति चयनका लागि सम्बन्धित समितिका कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी सोही समितिका एकजना सदस्य प्रस्तावक र अर्को एकजना सदस्य समर्थक हुनुपर्ने प्रावधान छ। संघीय संसद् अन्तर्गत कुल १६ वटा संसदीय समितिहरू रहेका छन् । जसमा प्रतिनिधिसभा अन्तर्गत १० वटा, राष्ट्रिय सभा अन्तर्गत ४ वटा विषयगत समिति (जसको निर्वाचन यसअघि नै भइसकेको छ) र संयुक्त समिति २ वटा (प्रतिनिधिसभा र राष्ट्रिय सभाको साझा) रहने व्यवस्था रहेको छ ।
हाल प्रतिनिधिसभा अन्तर्गतका १० र संयुक्त २ गरी कुल १२ समितिको नेतृत्व चयन हुन बाँकी छ।
गत चैत २७ गते बसेको प्रतिनिधिसभा बैठकले विषयगत समितिमा रहने सदस्यहरूको नाम टुङ्गो लगाएको थियो। सोही दिन सभामुख डोलप्रसाद अर्यालले आगामी शुक्रबार (वैशाख ५ गते) का लागि सभापति निर्वाचनको मिति तय गरेका थिए।
लामो समयदेखि समितिका ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्दै आएको बैठकले अब निर्वाचित नेतृत्व पाउने भएपछि संसदीय निगरानी र विधेयक निर्माण प्रक्रिया थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।