काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका राजदूत मायदा तोरुबीच आज गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। नयाँ कार्यकाल सम्हाल्नुभएका गृहमन्त्री गुरुङलाई बधाई दिन र दुई देशबीचको आपसी सम्बन्धबारे छलफल गर्न राजदूत तोरु मन्त्रालय पुगेका थिए ।
भेटका क्रममा गृहमन्त्री गुरुङले जापानको सहयोगमा निर्माण भइरहेको नागढुङ्गा टनेल मार्ग लगायतका विभिन्न पूर्वाधार आयोजनाहरूको प्रगतिबारे विशेष चासो व्यक्त गरेका थिए । यस्ता ठूला विकास परियोजनाले नेपालको समग्र आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको चर्चा गर्दै उनले जापान सरकारको निरन्तर सहयोगको प्रशंसा गरेका हुन ।
छलफलको मुख्य एजेन्डा नेपालको विपद् जोखिम न्यूनीकरण पनि रह्यो। गृहमन्त्रीले नेपालमा विपद् व्यवस्थापन सम्बन्धी अध्ययन तथा खोज अनुसन्धानका लागि विश्वविद्यालय स्थापना गर्न जापानसँग प्राविधिक सहयोग र ज्ञान हस्तान्तरणको प्रस्ताव राखेका थिए । क्षमता अभिवृद्धि र अनुभव आदानप्रदानका लागि थप सहकार्य आवश्यक रहेको उनले बताए ।
