काठमाडौँ । नेपाली कांग्रेसले ‘जेन्जी आन्दोलन’ र सो क्रममा भएका घटनाबारे अध्ययन गर्न गठित समितिको प्रतिवेदन बुझेको छ। वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा गठित ५ सदस्यीय अध्ययन समितिले बुधबार आफ्नो ५२ पृष्ठ लामो प्रतिवेदन पार्टीलाई हस्तान्तरण गरेको हो।
सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन गरेको जाँचबुझ आयोगको प्रतिवेदनमाथि थप अध्ययन र विश्लेषण गर्न कांग्रेसले यो समिति बनाएको थियो।
प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै संयोजक यदुनाथ खनालले सरकारी आयोग (कार्की आयोग) ले भदौ २३ गतेको घटनालाई प्राथमिकता दिए पनि २४ गतेका गम्भीर घटनाहरूलाई नजरअन्दाज गरेको बताउनुभयो।
“५२ पेजको हाम्रो प्रतिवेदनमा जेनजी आन्दोलनको विस्तृत विश्लेषण गरिएको छ। कार्की आयोगले भदौ २३ लाई धेरै उल्लेख गरे पनि २४ गतेको घटनालाई बेवास्ता गरेको देखियो,” खनालले भन्नुभयो, “हामीले ती सबै छुटेका विवरणहरूलाई समेटेर प्रतिवेदन तयार पारेका छौँ।”
कार्की आयोगले समय अभावका कारण भदौ २४ को घटनाबारे विस्तृत विवरण निकाल्न नसकिएको भनी दिएको तर्कप्रति खनालले कडा आपत्ति जनाउनुभयो। पटक–पटक म्याद थप गर्दा पनि महत्वपूर्ण घटनालाई छोडेर पन्छिन नमिल्ने उहाँको तर्क छ। अध्ययन समितिले २४ गतेका घटनाका सबै ‘डिटेल्स’ निकालेर पार्टीलाई बुझाएको जानकारी दिएको छ।
यस अध्ययन प्रतिवेदनका आधारमा नेपाली कांग्रेसले कार्की आयोगको प्रतिवेदन र जेन्जी आन्दोलनका सन्दर्भमा आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने बताइएको छ। खनालले भन्नुभयो, “अब यस प्रतिवेदनलाई अध्ययन गरेर कांग्रेसले आवश्यक र ठोस निर्णय लिनेमा हामी आशावादी छौँ।”