काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीका पूर्व उपसभापति एवं प्रभावशाली नेता पूर्णबहादुर खड्कालाई सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। बुधबार बसेको अनुशासन समितिको बैठकले खड्काले पार्टीको विधान विपरीत कार्य गरेको भन्दै लिखित जवाफ माग गरेको हो।
खड्काले पार्टीको आधिकारिक ’लेटरहेड’ दुरुपयोग गरी वक्तव्य जारी गरेको र आफूसँग नभएको जिम्मेवारी दाबी गरेको अनुशासन समितिको निष्कर्ष छ।
पटक–पटक सचेत गराउँदा पनि खड्काले पार्टीको मर्यादा उल्लंघन गरेको भन्दै समितिले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम कारबाही प्रक्रिया अगाडि बढाएको हो।
सात दिनभित्र चित्तबुझ्दो जवाफ नआएमा विधान अनुसार थप कडा कारबाही हुन सक्ने समिति स्रोतले जनाएको छ। पार्टीभित्र पछिल्लो समय देखिएको आन्तरिक विवाद र गुटबन्दीका बीचमा अनुशासन समितिले लिएको यो निर्णयलाई राजनीतिक वृत्तमा महत्वका साथ हेरिएको छ।