पोखरा । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनमा असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसका सांसद दोर्णकुमार कुँवरले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आजै मन्त्रिपरिषद् पुनर्गठन गरेलगत्तै मन्त्रीका बलिया आकांक्षी मानिएका कुँवरले राजीनामा बुझाउनुभएको हो। कुँवरले सभामुखलाई सम्बोधन गर्दै आजैदेखि लागू हुने गरी आफ्नो लिखित राजीनामा दर्ता गराएका छन् ।
बागलुङ क्षेत्र नम्बर २ (२) बाट निर्वाचित कुँवर यसपटकको पुनर्गठनमा मन्त्री बन्ने चर्चामा थिए । तर, मुख्यमन्त्री पाण्डेले नयाँ मन्त्रीहरूको सेटमा उनलाई नसमेटेपछि उहाँले संसदीय दल र सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै राजीनामा दिएको बुझिएको छ।
राजीनामा पत्रमा उनले आफूलाई विश्वास गरेर मतदान गर्ने बागलुङका मतदाता र शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सत्ता समीकरणलाई मजबुत बनाउन र सरकारको कार्यसम्पादनमा गति दिन भन्दै आज मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । नयाँ मन्त्रीहरूको शपथ ग्रहणको तयारी भइरहँदा सत्तापक्ष कै सांसदको राजीनामाले प्रदेश राजनीतिमा नयाँ तरंग पैदा गरेको छ।
