काठमाडौँ । काँग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का पार्टीकै निसानीमा परेका छन् । पार्टीको समानान्तर गतिविधिमा सक्रिय रहेको आरोपमा खड्कालाई कारबाहीको तयारी गरेको छ । खड्काले ‘कावा सभापति’कै हैसियतमा दोस्रोपटक वक्तव्य जारी गरेपछि कांग्रेस कारबाहीको तयारीमा लागेको हो । आज ११ बजे केन्द्रीय अनुशासन समितिको बैठक बोलाइएको छ । सो बैठकले खड्कालाई कारबाही गर्न सक्ने आंकलन गरिएको छ ।
यसअघि पूर्वगृहमन्त्री रमेश लेखक पक्राउविरुद्ध खड्काले कांग्रेसको लेटरप्याडमा विज्ञप्ति निकालेपछि अनुशासन समितिले सचेत गराउने निर्णय गरेको थियो । अनुशासन समितिका संयोजक एवम् कांग्रेस केन्द्रीय सदस्य तारामान गुरुङले पार्टी अनुशासन नमान्ने जोकोही कारबाहीको दायरामा पर्ने बताएका थिए । सभापति गगनकुमार थापाले पनि खड्कामाथि कारबाहीको संकेत गरेका छन् । मंगलबारदेखि सुरू जरा अभियानमा उनले अब धेरै नसहने बताएका छन् ।