काठमाडौँ । सामाजिक सञ्जालमार्फत आफ्नो चरित्रहत्या गर्ने उद्देश्यले नियोजित रूपमा दुष्प्रचार र भ्रामक सूचना फैलाएको भन्दै खुस्बु ओलीले नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा उजुरी दर्ता गराएकी छन्। सोमबार भोटाहिटीस्थित ब्यूरोमा पुगेर उनले आफ्नो व्यक्तिगत र सार्वजनिक छविमा क्षति पु¥याउने फेसबुक पेज, टिकटक र युट्युब च्यानलहरू विरुद्ध कानुनी प्रक्रिया अगाडि बढाएकी हुन्।
ओलीका अनुसार, केही व्यक्ति र मिडिया च्यानलहरूले आधारहीन सामग्रीहरू प्रसारण गरिरहेको र यसअघि सचेत गराउँदा समेत उक्त गतिविधि नरोकिएकाले बाध्य भएर कानुनी राज्यको प्रक्रिया अपनाउनु परेको हो। उनले यस प्रकारको कार्यलाई सामान्य आलोचना वा अभिव्यक्ति स्वतन्त्रताको दायराभित्र नपर्ने बरु ’संगठित दुष्प्रचार’ को संज्ञा दिएकी छन्।
अहिलेको डिजिटल युगमा घृणा फैलाएर लाभ कमाउने प्रवृत्ति बढेको प्रति चिन्ता व्यक्त गर्दै उनले भनेकी छन्, “अहिले घृणा नै नयाँ ’मुद्रा’ जस्तो बनाइएको छ, जसले जति धेरै घृणा बेच्न सक्छ, उसले त्यति नै फाइदा उठाइरहेको छ।“ कसैको व्यक्तिगत जीवनमा आँच पु¥याएर लाभ कमाउने मानसिकता समाजका लागि खतरा भएको उल्लेख गर्दै ओलीले साइबर दुरुपयोगविरुद्ध आफ्नो लडाइँ जारी रहने बताएकी छन्।