काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा पठाएका छन्। मौरिससमा आयोजित हिन्द महासागर सम्मेलनको सिलसिलामा भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले यसबारे जानकारी दिएका छन् ।
परराष्ट्रमन्त्री खनालका अनुसार, नेपालमा सम्पन्न निर्वाचनपश्चात् भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन गरी प्रधानमन्त्री शाहलाई बधाई दिँदै भारत भ्रमणको प्रस्ताव राखेका थिए ।
मौरिससमा भारतीय विदेशमन्त्री एस. जयशंकरसँगको भेटवार्तापछि मन्त्री खनालले भ्रमणबारे थप प्रष्ट पारेका छन् । “नयाँ सरकार गठन भएको भर्खर दुई हप्ता मात्र भएको छ, त्यसैले अहिले हामी आन्तरिक प्राथमिकताहरू तय गर्दैछौँ,“ उनले भने, नेपाल र भारतबीच रहेका झण्डै ४० वटा द्विपक्षीय संयन्त्रहरूमार्फत भ्रमणको समय र एजेन्डा तय गरिने सहमति भएको छ।
प्रधानमन्त्रीको रूपमा बालेन शाहको यो पहिलो विदेश भ्रमण हुनसक्ने भएकाले यसलाई राजनीतिक र कूटनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। सरकारले आफ्ना आन्तरिक प्राथमिकताहरू टुङ्ग्याएपछि दुवै देशको कूटनीतिक च्यानलमार्फत भ्रमणको मिति सार्वजनिक गरिने बताइएको छ।