काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख निर्वाचनअघि राजनीतिक समीकरणमा अप्रत्याशित मोड देखिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो उम्मेदवारी फिर्ता लिने तयारी गरेको स्रोतले जनाएको छ।
सुरुवातमा राप्रपाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां) को समर्थन पाउने अपेक्षा राखेको थियो। तर रास्वपाले श्रम संस्कृति पार्टीकी सांसद रुबि कुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेपछि सत्ता समीकरण बदलिएको हो। समर्थन नपाउने अवस्था स्पष्ट बन्दै गएपछि राप्रपा पछाडि हट्ने निष्कर्षमा पुगेको बताइएको छ। राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीले भने उम्मेदवारीबारे अन्तिम निर्णय संसदीय दलको बैठकबाट हुने जानकारी दिएकी छन्। बैठकले औपचारिक निर्णय गरेसँगै राप्रपाले उम्मेदवारी फिर्ता लिने सम्भावना उच्च रहेको छ। यसबीच, उपसभामुख पदको प्रतिस्पर्धा एकतर्फी बन्दै गएको छ। रास्वपाको समर्थन प्राप्त गरेकी रुबि कुमारी ठाकुर बलियो उम्मेदवारका रूपमा उभिएकी छन् र उनको जित सुनिश्चिततर्फ उन्मुख देखिएको छ।