काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको आर्थिक समृद्धिका लागि व्यापार, व्यवसाय, उद्योग–धन्दा र समग्र आर्थिक गतिविधिको विस्तार अपरिहार्य रहेको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित नेपाल चेम्बर अफ कमर्सको ७५ औँ वार्षिक साधारण सभा तथा हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउन सबै पक्ष आर्थिक समृद्धिको दिशामा केन्द्रित हुनुपर्नेमा जोड दिए।
उनले हालै सम्पन्न निर्वाचनले जननिर्वाचित संसद र सरकारलाई सुशासन कायम गर्दै जनताको जीवनस्तर उकास्ने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने र आर्थिक समृद्धि हासिल गर्ने महत्वपूर्ण जिम्मेवारी दिएको उल्लेख गरेका छन्।राष्ट्रपतिले राज्यको उक्त दायित्व पूरा गर्न निजी क्षेत्रको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताउँदै राजनीतिक स्थिरता नै आर्थिक विकासको आधार भएको धारणा व्यक्त गरे। उनका अनुसार स्थिर सरकार, स्पष्ट नीति र दीर्घकालीन रणनीतिले मात्र औद्योगिक विकास, लगानी विस्तार र रोजगारी सिर्जनालाई गति दिन सक्छ। उनले निजी क्षेत्रलाई केवल कर तिर्ने निकायका रूपमा नभई राष्ट्र निर्माणको साझेदारका रूपमा हेर्नुपर्ने आवश्यकता औँल्याए। त्यस अवसरमा राष्ट्रपति पौडेलले नेपाल चेम्बर अफ कमर्सले मुलुकको आर्थिक विकास, उद्योग–व्यवसाय प्रवर्द्धन, लगानीमैत्री वातावरण निर्माण तथा उद्यमशीलताको विकासमा पुर्याउँदै आएको योगदानको प्रशंसा गरे।