काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजका लागि संसदीय दलको बैठक बोलाएको छ। उपसभामुखको निर्वाचन र सदनको समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठक आज दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ। आजै हुने उपसभामुखको निर्वाचनमा पार्टीको रणनीति र मतदानका विषयमा बैठकमा मुख्य छलफल हुनेछ।
उपसभामुख पदका लागि आजै निर्वाचन हुँदैछ। रास्वपाले यसअघि नै श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरिसकेको छ। ठाकुरको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप लगाउने वा निर्देशन दिनेबारे आजको बैठकले अन्तिम निर्णय लिने बुझिएको छ। उपसभामुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती लामाले पनि उम्मेदवारी दिएकी छन्।
पार्टीले हालसम्म आफ्नो मुख्य सचेतक र सचेतक तोकेको छैन। आजको बैठकमा यसबारे पनि छलफल हुन सक्ने महामन्त्री बुर्लाकोटीले जानकारी दिएका छन्। यसका साथै सदनमा पार्टीको उपस्थिति, जनसरोकारका मुद्दा र अन्य विविध सांगठनिक विषयहरूमा पनि छलफल हुने कार्यसूची रहेको छ।
रास्वपाले संसद्मा आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउन र रिक्त रहेका संसदीय जिम्मेवारीहरूलाई पूर्णता दिन यो बैठकलाई महत्त्वका साथ हेरेको छ।