काठमाडौँ । हालै पदमुक्त भएका श्रममन्त्री दीपककुमार साहले आफ्नो कार्यकाल छोटो भए पनि आफूले इमान्दारीपूर्वक काम गरेको दाबी गरेका छन्। उनले १३ दिनको नेतृत्व अवधिमा केही सुधारका पहल अघि बढाए पनि मिडियामा नकारात्मक रूपमा प्रस्तुत गरिएको गुनासो गरेका छन्।
उनले मन्त्रालयमा काम गरिरहँदा सुधारका प्रयासहरू जारी रहेको उल्लेख गर्दै भने, “काम ठिकै भइरहेको थियो, तर अनावश्यक रूपमा विवाद बनाइयो। मिडियाले सकारात्मक पक्षभन्दा नकारात्मक पक्षलाई बढी प्राथमिकता दियो।”साहले आफू मिडिया व्यवस्थापनमा निपुण नभएको स्वीकार्दै सल्लाहकारको अभावका कारण आफ्नो पक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्न नसकेको बताए। “म मिडिया म्यानेजर होइन, मसँग सल्लाहकार पनि थिएनन्। मैले स्पष्ट रूपमा कुरा राखेको थिएँ, तर त्यसलाई फरक तरिकाले प्रस्तुत गरियो,” उनले भने। आफ्नो शैक्षिक तथा पेशागत पृष्ठभूमि उल्लेख गर्दै उनले आफू सक्षम र योग्य व्यक्ति भएको दाबी गरे। उनले त्रिवि शिक्षण अस्पताल, आईओएम, लण्डन स्कुल अफ इकोनोमिक्स तथा लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनमा छात्रवृत्तिमा अध्ययन गरेको र विश्व स्वास्थ्य संगठन तथा लण्डनको स्वास्थ्य मन्त्रालयमा काम गरेको अनुभव रहेको बताए। पदमुक्त भएपछि अब सांसदको भूमिकामा केन्द्रित हुने बताउँदै उनले भने, “म पाँच वर्षका लागि निर्वाचित सांसद हुँ। अब वस्तुगत र गम्भीर विषयमा स्पष्ट रूपमा बोल्ने जिम्मेवारी निर्वाह गर्छु।”
१३ दिनको आफ्नो कार्यकालबारे बोल्दै उनले छोटो समयमै मन्त्रालयलाई सक्रिय बनाएको दाबी गरे। “म बिहानदेखि बेलुकासम्म मन्त्रालयमै बसेर काम गरेँ। केही नीतिगत निर्णयहरू अघि बढाएका थियौँ, जसले निरन्तरता पाए क्षेत्र नै व्यवस्थित र सुरक्षित बन्ने थियो,” उनले बताए। उनका अनुसार इन्टर्नसिप प्रणाली, टोकन सिस्टम, वैदेशिक रोजगारीसँग सम्बन्धित ट्र्याकिङ, मृतक श्रमिकको व्यवस्थापन, डिजिटल प्रविधिको प्रयोग तथा पेन्डिङ केस घटाउने जस्ता कामहरू सुरु गरिएको थियो। उनले करिब ४० हजार पेन्डिङ मुद्दा घटाउने प्रयास गरेको र मन्त्रालयको कामको गति बढाएको पनि दाबी गरे। “यदि सकारात्मक रूपमा हेर्ने हो भने मेरो कामको राम्रो पक्ष धेरै छन्,” उनले भने, “तर मेरो कथा मैले होइन, अरूले लेखे जस्तो भयो।” साहले आफ्नो नियुक्तिसँग सम्बन्धित विवादप्रति दुःख व्यक्त गर्दै आफूले प्रत्यक्ष रूपमा कुनै गल्ती नगरेको जिकिर गरेका छन्।