काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले मुलुकको नीति तथा ऐन कानुन निर्माण प्रक्रियामा सहजीकरण गर्न आफू र राष्ट्रियसभा सदैव तयार रहेको बताएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित चन्द्रलोक प्रतिष्ठानको छैठौँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राष्ट्रियसभाले सरकार र जनताबीच पुलको भूमिका निर्वाह गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले संसद्को माथिल्लो सदनले कानुन निर्माणका साथै सरकारका कामकारबाहीमा निरन्तर खबरदारी गर्दै आएको र आगामी दिनमा पनि यसलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता जनाउनुभयो ।
अध्यक्ष दाहालले देशमा बन्ने कानुनहरू केवल दफावार नभई व्यावहारिक, समावेशी र समयसापेक्ष हुनुपर्नेमा जोड दिनुभयो । “कानुन निर्माणमा सामाजिक संस्थाहरूको अनुभव, सुझाव र सहभागिता अत्यन्त महत्त्वपूर्ण हुन्छ,“ उहाँले भन्नुभयो, “समाजको वास्तविक आवश्यकता सम्बोधन गर्ने कानुनले मात्रै परिवर्तनको अनुभूति गराउन सक्छन् ।“
सञ्चार, शिक्षा, स्वास्थ्य र व्यापार लगायतका क्षेत्रमा प्रविधिको प्रयोगले ठूलो परिवर्तन ल्याएको चर्चा गर्दै अध्यक्ष दाहालले यसका कारण सिर्जित नयाँ चुनौतीहरूप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “प्रविधिले सहजता त ल्याएको छ, तर यसले ल्याएका चुनौतीहरूलाई चिर्दै मानवता, देशप्रेम र राष्ट्रिय एकताको संरक्षण गर्न सामाजिक संस्थाहरू अझ बढी सक्रिय हुनुपर्छ ।“
अध्यक्ष दाहालले युवा पुस्तालाई दक्ष बनाउनुको साथै उनीहरूमा सही मूल्य, आदर्श र जिम्मेवारीबोध गराउनु आजको प्रमुख आवश्यकता रहेको बताउनुभयो । युवाहरूलाई केवल प्राविधिक रूपमा सक्षम मात्र नभई एक जिम्मेवार नागरिकका रूपमा तयार गर्नुपर्नेमा उहाँको विशेष जोड थियो ।
नेपाली जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त संविधान र उपलब्धिहरूको रक्षाका लागि सबै पक्ष एकजुट हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
सोही कार्यक्रमको अवसरमा प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरू, नागरिक समाजका प्रतिनिधि र समाजसेवीहरूको उपस्थिति रहेको थियो ।