काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीलाई समर्थन गर्ने निर्णय गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाही असन्तुष्ट भएका छन्।
शाहीले रास्वपा सभापति रवि लामिछानेले पहिले समर्थनको आश्वासन दिएर पछि अर्को दललाई समर्थन गरेको भन्दै आपत्ति जनाएका छन्। उनका अनुसार, लामिछानेले आफैँ फोन गरेर उम्मेदवारी दर्ता गर्न आग्रह गरेपछि मात्र राप्रपाले आफ्नो उम्मेदवारी दर्ता गराएको थियो। शाहीले भने, “सभापतिले स्वयं फोन गरेर ‘हाम्रो समर्थन छ, उम्मेदवारी दर्ता गराउनुस्’ भनेपछि हामी अघि बढ्यौं। तर पछि अर्को पार्टीलाई समर्थन गर्ने निर्णय आउनु अनपेक्षित भयो।” उनले प्रतिपक्षी दलहरूबीच समझदारीका आधारमा अघि बढ्ने प्रयास भइरहेको अवस्थामा यस्तो निर्णयले अन्योल सिर्जना गरेको पनि बताएका छन्। यता, रास्वपाले भने उपसभामुख पदका लागि आफ्नो समर्थन श्रम संस्कृति पार्टीलाई दिने औपचारिक घोषणा गरिसकेको छ।