काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले तत्काल अस्पताल नछाड्ने भएका छन्। बिहीबार प्रहरी हिरासतमुक्त भएपनि ओलीले तत्काल अस्पताल नछाड्ने भएका हुन् ।
चैत १४ गते जनेजी आन्दोलनको छानबिन गर्न बनेको न्यायीक आयोगको कारबाही गर्न गरेको सिफारिसअनुसार पक्राउ परेका ओली त्यसलगत्तै स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए।
१३ दिनसम्म अस्पतालमा रहेका ओलीलाई सर्वोच्च अदालतले सोमबार रिहा गर्न दिएको आदेशअनुसार उनलाई आज बिहान पौने ११ बजे प्रहरीले आफन्तको जिम्मा लगाएको थियो।
ओलीका स्वकीय सचिव राजेश बज्राचार्यकाअनुसार सोमबार ओलीको पत्थरीको अप्रेसन रहेको छ। अप्रेसनपछि मात्र उनी घर जाने बज्राचार्यले जानकारी दिए। ओली हाल काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् ।