काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई सरकारबाट फिर्ता बोलाउने तयारी थालेको छ ।पछिल्लो समय विभिन्न विवादमा मुछिन थालेपछि मन्त्री साहलाई पार्टीको ‘राइट टु रिकल’ नीति अनुसार पदबाट हटाउने प्रक्रिया अघि बढाइएको जनाइएको छ ।
श्रममन्त्री साहकी पत्नी जुनु श्रेष्ठलाई बीमा बोर्डको सदस्यमा पुनः फर्काएपछि उनी विवादमा परेका छन्। २०८० मंसिरमा तत्कालीन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले श्रेष्ठलाई बोर्ड सदस्यमा नियुक्त गरेका थिए। तर, बैठकमा लगातार अनुपस्थित भएपछि बोर्डले उनलाई निलम्बनका लागि पत्र पठाएको थियो। पछि साह मन्त्री नियुक्त भएपछि श्रेष्ठ पुनः बोर्डमा फर्किएको विषयले आलोचना बढेपछि रास्वपाले कारबाहीको संकेत देखाएको स्रोतको दाबी छ ।
महोत्तरी–२ बाट निर्वाचित साह ठगिकोको आरोपमा पक्राउ परेका व्यक्ति नै श्रममन्त्री बनेको भन्दै सुरुमै आलोचित बनेका थिए । २०७३ को असोज १२ गते ठगीमा पक्राउ परेका साह अहिले बालेन शाहको नेतृत्वमा बनेको मन्त्री परिषद्को श्रममन्त्री बनेका छन् । एमविविएस परीक्षामा पास गराईदिने भनी उनले ठगी गरेका थिए । पुतलीसडकमा रहेको वल्र्ड वाईड कन्सल्टेन्सीका नाममा उनले ठगी गरेका थिए। जून घटनामा उनलाई तत्कालीन महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको थियो।
यस्तै विवादमा साह परेपछि पार्टीको अनुशासन समितिले मन्त्री साहमाथि छानबिन गरिरहेको र पार्टीको ‘राइट टु रिकल’ नीति अनुसार उनलाई पदबाट हटाउने प्रक्रिया अघि बढाइएको बुझिएको छ ।
रास्वपाले आफ्ना सांसदहरूलाई दिएको दुईदिने अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन सभापति रवि लामिछानेले पार्टीको विधानमा रहेको ‘राइट टु रिकल’को व्यवस्थालाई कडाइका साथ लागू गर्ने बताएका थिए । उनले भनेका थिए, ‘सरकार दुई तिहाइको छ, संख्या घट्ला अथवा सरकार बहुमतमा रहन्छ, संख्या घट्ला, अल्पमतमा पर्ला भन्ने कुराको परवाह नगरी ‘राइट टु रिकल’को व्यवस्थालाई यस पटक कडाइका साथ लागू गर्नेछौँ ।’
यसैबिच श्रममन्त्री साहको वरियता पनि अन्तिममा गएको छ । यसअघि महिला, बालबालिका मन्त्री सीता वादीलाई अन्तिम वरीयता मिलेकोमा अहिले श्रम साह अन्तिम वरीयतामा गएका छन् ।
यो पनि पढ्नुस् :-
ठगीको आरोपमा पक्राउ परेका नक्कली डाक्टर नै बने श्रममन्त्री