काठमाडौं । सोमबार सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सशर्त थुनामुक्तको आदेश दिएसँगै आज हाजिरी जमानीमा छाड्ने तयारी भइरहेको छ ।
उनीहरुमाथिको अनुसन्धान नसकिएकाले ओली र लेखकलाई सरकारले हाजिरी जमानीमा छाड्ने पर्ने बाध्यता रहेको छ । ओली–लेखकलाई हिरासतमा राख्न प्रहरीले पाएको म्याद आज सकिँदैछ । तर आजै प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलमार्फत अदालतलमा अभियोजन दर्ता गरी थुनछेक बहससमेत सुरु भएका खण्डमा भने ओली र लेखक तत्काल रिहा हुने छैनन् ।
त्यसपछि भने उनीहरू रिहा हुने–नहुने विषय सम्बन्धित अदालतले तय गर्नेछ । थुनछेक बहसपछि अदालतले थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छोड्नेमध्ये एक आदेश दिन सक्छ ।
२३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई प्रहरीले १४ चैतमा अनुसन्धानका लागि पक्राउ गरेको थियो । जेनजी प्रदर्शनका क्रममा ७६ जनाको ज्यान गएको र अर्बौं रुपैयाँको क्षति भएको हुँदा त्यसको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक हुनुपर्ने आरोप उनीहरुमाथि छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले तयार पारेको प्रतिवेदनमा उनीहरुलाई १०–१० वर्षसम्मको सजाय हुन सक्नेगरी कारबाहीको सिफारिस गरिएको छ ।