काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयनका निम्ति आज (चैत २६) उमेदवारी दर्ताको समय तोकिएको छ । संसद् सचिवालयले सार्वजनिक गरेको उपसभामुखको निर्वाचन कार्यतालिकाअनुसार, उमेदवारी दर्ताका लागि बिहान ११ देखि दिउँसो २ बजेसम्मको समय तोकिएको छ ।
प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रकाशन गरेको सूचनामा बिहीबार नै दिउँसो २:३० बजे उमेदवारीको सूचना दर्ता क्रमअनुसार प्रकाशन गर्ने उल्लेख छ ।
२७ गते उपसभामुखको निर्वाचन हुँदै छ । अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तावकले उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस हुनेछ । त्यसमाथि छलफल भएर निर्णय गरिनेछ ।
सभामुख डोलप्रसाद अर्यालले बुधबारको बैठकबाट उपसभामुख निर्वाचनको मिति तोक्दै सूचना प्रकाशन गर्न निर्देशन दिएका थिए । उपसभामुखका लागि विपक्षी दलहरूले उमेदवारी दिने बताउँदै आएका छन्।
प्रतिनिधिसभाको दुईतिहाइ बहुमतनिकट रहेको सत्तारूढ रास्वपाको समर्थन पाउने दलबाट नै उपसभामुख चयन हुनेछ । हालसम्म रास्वपाले कुनै दललाई समर्थन गरेको छैन ।