काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पक्राउ पुर्जी जारी भएपछि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारमाथि भ्रामक र झुटा प्रचार गरिएको दाबी गरेका छन् ।
स्वास्थ्य उपचारका लागि पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवासँगै हाल हङकङमा रहेका देउवाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
मंगलबार साँझ अदालतबाट देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पक्राउ पुर्जी जारी भएको थियो। उक्त घटनापछि पहिलोपटक सार्वजनिक प्रतिक्रिया दिँदै देउवाले आफूविरुद्ध सुरु भएको अनुसन्धानबारे सञ्चारमाध्यमबाट मात्रै जानकारी पाएको बताएका छन्।
यस्तो छ देउवको भनाइ
आदरणीय दाजुभाई, दिदी बहिनी तथा साथीहरु,
म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धिकरण सम्बन्धि अनुसन्धान सुरु गरिएको भन्ने जानकारी संचारमाध्यमबाट थाहा पाएँ । म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु ।
नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेको अवगत गराउन चाहन्छु ।
देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायापालिका, पारदर्शीतासँगै राज्यका अंगहरु स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि मैले सिंगो जीवन संघर्षमै व्यथित गरेको हुँ ।
मेरो जीवन एउटा खुल्ला पुस्तकका रुपमा रहेको छ ।
भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शीता कायम गर्न म गृहमन्त्री हुँदा मेरै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र मेरै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको सर्वविदित नै छ ।
स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौ र अझै उपचारको क्रम जारी रहेको जानकारी गराउन चाहन्छु ।
बास्तविकता समयक्रमसँगै खुल्दै जानेनै छ । अतिरंजना गरी सार्वजिनक भएका विवरणहरुबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु।
जय नेपाल।
शेरबहादुर देउवा