काठमाडौँ । संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानबीच हालै भएको दुई हप्ताको युद्धविराम सम्झौताको नेपाल सरकारले स्वागत गरेको छ। परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै यस कदमलाई पश्चिम एसियामा तनाव कम गर्ने दिशामा एक सकारात्मक सुरुवातको रूपमा व्याख्या गरेको हो।
मन्त्रालयले यस सम्झौताले वार्ता, कूटनीति र आपसी मतभेदहरूलाई शान्तिपूर्ण माध्यमबाट समाधान गर्न महत्त्वपूर्ण अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।
नेपालले यस विकासक्रमलाई क्षेत्रीय शान्ति र स्थिरता प्रवद्र्धन गर्ने दिशामा एक रचनात्मक कदमको रूपमा लिएको छ। विज्ञप्तिमा भनिएको छ, “नेपाल सधैँ विवादहरूको शान्तिपूर्ण समाधानको पक्षमा रहेको छ र यो सम्झौताले त्यसै अडानलाई थप पुष्टि गर्दछ।“
युद्ध र द्वन्द्वका कारण उत्पन्न मानवीय संकटप्रति चिन्ता व्यक्त गर्दै सरकारले सर्वसाधारण नागरिकहरूको सुरक्षा र कल्याण सुनिश्चित गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ। द्वन्द्वग्रस्त क्षेत्रमा नागरिकहरूको जीवन रक्षा नै प्राथमिकता हुनुपर्ने नेपालको ठहर छ।
नेपालले यस क्षेत्र र विश्वभरि नै दिगो शान्ति स्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायले गर्ने हरेक प्रयासमा आफ्नो समर्थन रहने प्रतिबद्धता समेत दोहो¥याएको छ।
