काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका राजदूत तथा प्रमुखहरूसँग भेटवार्ता गर्दै मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई थप मजबुत बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित सामूहिक शिष्टाचार भेटका क्रममा उनले नेपालले सबै देशसँगको सम्बन्धलाई उच्च महत्त्व दिने र पारस्परिक लाभमा आधारित साझेदारीलाई सुदृढ गर्ने उल्लेख गरेका छन् ।
प्रधानमन्त्री साहले नेपालले सन्तुलित र व्यावहारिक वैदेशिक नीतिको अनुसरण गरिरहेको बताउँदै बाह्य सम्बन्ध साझा समृद्धिको लक्ष्यबाट निर्देशित हुने बताए । उनले “नेपालको विकास र समृद्धिका लागि निरन्तर सद्भाव र सहयोग प्रदान गर्ने सबै साझेदार तथा मित्रहरूप्रति हामी आभार व्यक्त गर्दछौँ,“ बताए ।
विश्वका विभिन्न स्थानमा जारी द्वन्द्वप्रति चासो व्यक्त गर्दै प्रधानमन्त्रीले शान्तिलाई साझा प्राथमिकता बनाउनुपर्नेमा जोड दिएका थिए । द्वन्द्वले सबैभन्दा बढी सर्वसाधारण नागरिकलाई असर गर्ने भएकाले यस दिशामा सामूहिक प्रयास आवश्यक रहेको बताए ।
सरकारले लगानीका लागि अनुकूल वातावरण निर्माण गर्ने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने र दिगो विकासलाई प्राथमिकता दिने लक्ष्य राखेको प्रधानमन्त्री शाहले बताए । नेपाललाई क्षेत्रीय तथा वैश्विक आर्थिक संरचनामा मजबुत रूपमा समेट्न सरकार क्रियाशील रहेको उनले उल्लेख गरेका थिए ।
नयाँ सरकार बने पनि नीतिगत दिशामा स्थिरता र पूर्वानुमानयोग्यता कायम रहने विश्वास दिलाउँदै प्रधानमन्त्रीले “हामी राजनीतिक स्थायित्व कायम राख्न र विकास, व्यापार तथा लगानीका क्षेत्रमा सहकार्य अघि बढाउन दृढ छौँ।“ भने ।
यसैगरी, विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हितलाई सरकारले आफ्नो प्रमुख प्राथमिकतामा राखेको समेत उनले राजदूतहरूलाई जानकारी गराए ।