काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं पूर्वमन्त्री जगदीश खरेलले जेन्जी आन्दोलनका सहिद परिवारसँग भएको १० बुँदे सम्झौता तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको ’विषय समय’ मा बोल्दै सांसद खरेलले गत भदौ २३ र २४ गतेको घटनालाई स्मरण गर्दै उक्त सम्झौता पालना नभए स्वीकार्य नुहने बताए । उनले भने, “भदौ २३ र २४ गतेको त्यो ऐतिहासिक आन्दोलन र जेन्जी सहिदका आफन्तसँग गरिएको १० बुँदे सम्झौता अक्षरशः पालना हुनुपर्छ । यसमा कुनै पनि बहानामा ढिलासुस्ती वा तलमाथि गरिए त्यो स्वीकार्य हुनेछैन ।“
सम्बोधनका क्रममा खरेलले फागुन २१ को राजनीतिक घटनाक्रमलाई स्मरण गर्दै तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले राजनीतिक दलहरूको ढोका ढकढक्याएर मार्गप्रशस्त गरेको उल्लेख गरेको बताए । “हामीमध्ये कसैलाई पनि फागुन २१ मा यो परिवर्तन सम्भव होला भन्ने लागेको थिएन,“ उनले भने, “तर तत्कालीन सरकारले राजनीतिक निकासका लागि चालेको कदमकै कारण आज नयाँ परिस्थिति निर्माण भएको हो ।“
निर्वाचनको परिणामलाई लिएर टिप्पणी गर्दै सांसद खरेलले राजनीतिमा अब ’पुराना पात’ हरू झर्दै गएको र ’नयाँ पालुवा’ पलाउन थालेको बताए । उनले भने, “पुराना पातहरू झरेर नयाँ पालुवा पलाएका छन्, अब ती पालुवाले जनतालाई सुशासन र समृद्धिको फल चखाउनेमा म विश्वस्त छु ।“