काठमाडौँ । स्वतन्त्र सांसद महावीर पुनले भने नातावाद, कृपावाद र चापलुसीको प्रभाव रहेको उल्लेख गर्दै यस्ता प्रवृत्तिको अन्त्य गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै उनले २००७ सालदेखि नै यस्ता विकृति कायम रहँदै आएको र यसले राज्यलाई दीर्घकालीन रूपमा नोक्सानी पुर्याएको बताए। उनले यस्ता प्रवृत्ति तत्काल रोक्न नसके वर्तमान सरकारलाई नै यसको प्रत्यक्ष असर पर्ने चेतावनी दिए। सांसद पुनले देशको आर्थिक विकास विज्ञान र प्रविधिको माध्यमबाट मात्रै सम्भव हुने धारणा राख्दै यस क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताए। उनले विज्ञान तथा प्रविधि केन्द्रित छुट्टै मन्त्रालय स्थापना गरी योजनाबद्ध रूपमा अघि बढ्न सरकारसँग आग्रह गरे। उनले दीर्घकालीन विकासका लागि पारदर्शिता, योग्यता र प्रविधिमा आधारित नीति अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याए।