काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका–स्थित लापिलाङ क्षेत्रमा देखिएको पहिरो समस्याप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले उक्त क्षेत्रमा विगत सात वर्षदेखि पहिरोको उच्च जोखिम कायम रहेको उल्लेख गरे।
वर्षायाम सुरु भएसँगै जोखिम थप बढ्ने भएकाले तत्काल आवश्यक सुरक्षा व्यवस्था मिलाउनुपर्नेमा उनले जोड दिए। सांसद खरेलले पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद् खटाई अध्ययन गर्न तथा जोखिम न्यूनीकरणका उपाय तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्। साथै दीर्घकालीन समाधानका लागि वैज्ञानिक ढंगले योजना बनाई कार्य अघि बढाउनुपर्ने आवश्यकता उनले औँल्याए।