काठमाडौँ। सर्वोच्च अदालतको आदेशअनुसार न्यायिक हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्ने कि मुद्दा चलाउने भन्ने विषयमा प्रहरीले सरकारी वकिलसँग लिखित राय मागेको छ।
गत आइतबार चैत २२ सर्वोच्च अदालतले उनीहरूलाई पछिल्लो पटक थपिएको म्याद सकिएपछि रिहा गर्न आदेश दिएको थियो। न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासको परमादेशमा उल्लेख छ कि तेस्रो पटक पाँच दिनको म्याद थपपछि काठमाडौँ जिल्ला अदालतबाट दिएको आदेशअनुसार अनुसन्धान कार्य सम्पन्न भए वा मुद्दा चल्ने नचल्ने निर्णय भए अनुसार कार्य गर्नुपर्नेछ।
यदि म्यादभित्र मुद्दा पेस गर्न नसकिने भए, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ अनुसार उनीहरूलाई हाजिरी जमानीमा छाड्न आदेश गरिएको छ। यसअनुसार जिल्ला प्रहरी परिसरले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंसँग राय माग्दै पत्र दर्ता गरेको छ। सरकारी वकिलको लिखित आदेशअनुसार ओली र लेखकलाई हाजिरी जमानीमा छाड्ने कि मुद्दा पेश गर्ने निर्णय हुनेछ।