काठमाडौँ । राष्ट्रियसभाका चार विषयगत समितिका सभापतिहरूले बुधबार संघीय संसद् सचिवालयमा पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष सभापतिहरूले शपथ लिएका हुन्।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति पूजा चौधरी, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति जयन्तीदेवी राई, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। यसअघि सम्बन्धित समितिको बैठकले सर्वसम्मत रूपमा सभापति चयन गरेको थियो।