काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको समग्र विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको नवौं प्रदेश सभालाई सम्बोधन गर्दै उनले कर्णालीमा लगानीका प्रशस्त सम्भावना हुँदाहुँदै पनि निजी क्षेत्रको सहभागिता अपेक्षाअनुसार हुन नसकेको उल्लेख गरे। मुख्यमन्त्री कँडेलले कर्णाली प्राकृतिक स्रोत, कृषि, पर्यटन र जलस्रोतका हिसाबले धनी प्रदेश भएको उल्लेख गर्दै यिनै क्षेत्रलाई उपयोग गरेर आर्थिक विकास अघि बढाउन सकिने बताए। उनले अवसर पहिचान गरी लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गर्दै उत्पादनमुखी अर्थतन्त्रतर्फ उन्मुख हुनुपर्नेमा जोड दिए।
उनका अनुसार आत्मनिर्भर बन्न उत्पादन वृद्धि अनिवार्य छ। कृषि, जडीबुटी, जलविद्युत र पर्यटन क्षेत्रमा ठूलो सम्भावना रहेको भन्दै ती क्षेत्रमा लगानी विस्तार गर्न उनले निजी क्षेत्रलाई आह्वान गरे।मुख्यमन्त्री कँडेलले सरकारले निजी क्षेत्रलाई आवश्यक सहजीकरण गर्न तयार रहेको र लगानीमैत्री वातावरण निर्माणमा प्रतिबद्ध रहेको पनि स्पष्ट पारे। उनले लगानी प्रवर्द्धन, नीतिगत सुधार तथा पूर्वाधार विकासमा सरकार सक्रिय रहेको बताए। कार्यक्रममा उनले सरकारी अनुदानको दुरुपयोगप्रति चिन्ता व्यक्त गर्दै दीर्घकालीन सोचसहित परियोजना सञ्चालन गर्नुपर्ने बताए। अनुदान पाएपछि मात्र काम गर्ने र बीचमै छोड्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने उनको भनाइ थियो। उनले विकासका लागि सरकार, निजी क्षेत्र र नागरिकबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै कर्णालीको समृद्धिका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।