काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सरकार गम्भीर रूपमा लागिरहेको बताएका छन्।
सोमबार सिंहदरबारस्थित संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, प्रभावित नेपालीको उद्धार र सहजीकरणका लागि आवश्यक तयारी भइरहेको छ। हालसम्म ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन भइसकेको र तत्काल फर्कनुपर्ने अवस्थालाई ध्यानमा राखेर काम भइरहेको उनले बताए।खनालका अनुसार अहिले देखिएका समस्या सिधै युद्धसँग जोडिएका नभई भिसा, बिदा जस्ता नियमित कारणले उत्पन्न भएका हुन्। उनले अहिलेको अवस्थामा युद्धकै कारणले तत्काल स्वदेश फर्किनुपर्ने दबाब भने नदेखिएको स्पष्ट पारे। उनले मध्यपूर्वको अवस्थाका कारण पेट्रोलियम पदार्थको मूल्य बढेको उल्लेख गर्दै त्यसको प्रभावस्वरूप सार्वजनिक निकायमा बिदा दिने निर्णय गरिएको जानकारी दिए। साथै, आगामी दिनमा देखिन सक्ने सम्भावित समस्याबारे अध्ययन भइरहेको पनि बताए। यसैबीच, उनले यस वर्ष मलखाद अभाव हुन सक्ने भन्दै पूर्वतयारीका लागि सुझावसहितको प्रतिवेदन तयार पारिएको र मंगलबारसम्म मन्त्रिपरिषद्मा पेश गरिने जानकारी दिए।