काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले संसद्को आकस्मिक समयमा बोल्न सांसदले पहिले नै नाम टिपाउनुपर्ने नियम परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन्।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा तत्काल जानकारी दिन सांसदले नाम टिपाउन नपरे पनि बोल्न पाउनुपर्ने बताएका हुन्। “आकस्मिक समयलाई पनि अगाडि गएर नाम टिपाउने परम्परा सदनमा स्थापित छ। यसलाई अब परिवर्तन गर्नुपर्छ। आकस्मिक समय भनेको सांसदको विशेषाधिकार होस प्रधानमन्त्री बोल्दाबोल्दै भए पनि सांसदले हात उठाएर बोल्न पाउनु पर्छ,” उनले भने।
सांसद केसीले प्रतिपक्षको भूमिकालाई लोकतन्त्रको लागि महत्वपूर्ण ठहर गर्दै भने कि प्रभावकारी र रचनात्मक उपस्थितिले लोकतन्त्रलाई अझ जीवन्त बनाउँछ। उनले केही पुराना संसदीय नियम र मान्यताहरूलाई परिवर्तन गर्न आवश्यक रहेको पनि औंल्याए। उनले जोड दिए, संसदले पक्ष–विपक्षभन्दा माथि उठेर सबै धारणा र विचार समेटेर निष्कर्षमा पुग्नुपर्छ। सभामुखले पनि यसतर्फ विशेष ध्यान दिनुपर्छ। लोकतन्त्र भनेको वाद–प्रतिवाद र संवादको प्रक्रिया हो। फरक–फरक विचारबीच कहिलेकाहीँ तिक्तता उत्पन्न भए पनि त्यसबाट निस्किने सार नै लोकतन्त्रको सुन्दर पक्ष हो।