काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले रुकुम पश्चिमको सोती घटनालाई संसदमा उठाउँदै दलित समुदायमाथि भइरहेको हिंसा र भेदभावप्रति गम्भीर चिन्ता व्यक्त गरे।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले २०७७ जेठ १० गते रुकुमको सोतीमा नवराज विश्वकर्मासहित ६ जना युवाको अन्तरजातीय प्रेम सम्बन्धका कारण निर्ममतापूर्वक हत्या गरिएको घटना सम्झाए। “आजभन्दा सात वर्षअघि रुकुमको सोतीमा नवराज विश्वकर्मासहित ६ जनाको हत्या भयो। यो घटना सामान्य झगडा वा विवाद थिएन, जातको आधारमा गरिएको दुर्लभ र भयावह अपराध हो,” उनले भने। घटनाको विवरण दिँदै सांसद सुनारले भने कि २१ वर्षीय नवराज विक रानागाउँ, जाजरकोटबाट विवाहका लागि रुकुम पश्चिमको चौरजहारी–८ सोती पुगेका बेला स्थानीयले कुटपिट गरी ६ जनाको हत्या गरे भने १२ जना घाइते भएका थिए।
मृतकहरूको शव भेरी नदीमा भेटिएको थियो। सांसदले हालैका अन्य घटनाहरूको उदाहरण दिँदै दलित समुदायमाथि हिंसा अझै रोकिएको छैन बताए। “केही समयअघि सुर्खेतमा इनिशा विकको बलात्कारपछि हत्या भयो। आठ वर्षअघि काभ्रेको पाँचखालमा हत्या गरिएका अजित मियाँको शव अझै काठमाडौंको टिचिङ अस्पतालको मुर्दाघरमा छ,” उनले उल्लेख गरे। सांसदले दलित समुदायको अवस्था वर्णन गर्दै भने, “दलित उतापट्टि लास बनेर बस्छन्, जिउँदो दलित यतापट्टि दास बनेर बस्छन्।” सुनारले यस्ता घटनाको अन्त्यका लागि राज्यले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए र दलित समुदायसँग सरकारले गरेको क्षमायाचनाको लागि धन्यवाद व्यक्त गरे।