काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)की सांसद विष्णुमाया विकले सामाजिक सञ्जालमा महिलामाथि भइरहेको डिजिटल हिंसाप्रति कडा आपत्ति जनाएकी छन्। सोमबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा बोलेकै कारण एक महिलामाथि सामूहिक बलात्कारको धम्की दिइएको घटना सार्वजनिक गरेकी हुन्।
सांसद विकले अमिशा पराजुली नामकी महिलाले ओलीको समर्थन गर्दा सामाजिक सञ्जालमा अत्यन्तै तल्लो स्तरमा ओर्लिएर सामूहिक बलात्कार गर्नेसम्मको धम्की आएको बताइन्। “महिलाले कसैको समर्थन गर्दा सामाजिक सञ्जालमा यस्ता धम्की आउनु निकै आपत्तिजनक र लज्जास्पद छ,” उनले भनिन्।
सांसद विकले महिलाहरूले लामो संघर्ष र बलिदानीबाट संसदमा ३३ प्रतिशत सहभागिता सुनिश्चित गरेको स्मरण गराउँदै अहिलेको युगमा प्रविधिमार्फत हुने हिंसाले नयाँ चुनौती थपेको बताइन्। उनले “सामाजिक सञ्जालमा हेरिनसक्नु गालीगलौज भइरहेको छ। यसलाई तुरुन्त नियमन गरियोस्।“
उनले केपी शर्मा ओली र रमेश लेखक सत्तामा नभएको बेला प्रमाणहरू नष्ट गर्न सम्भव नभएको उल्लेख गर्दै सत्यतथ्य बाहिर ल्याउन माग गरिन्, नेकपा एमालेलाई सामाजिक सञ्जालमा सुनियोजित रूपमा गाली गरेकै कारण केही पछि पारिएको उनको दाबी छ ।
सम्बोधनका क्रममा उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि लगाइएका आरोपहरूका सन्दर्भमा बोल्दै उनीहरूलाई तत्काल छाड्न र कानुनी प्रक्रियालाई निष्पक्ष रूपमा अगाडि बढाउन सरकारसँग आग्रह गरिन्।
“उहाँहरूलाई तत्काल छोडियोस् र विधिको शासन अनुसार कानुनी प्रक्रिया अगाडि बढाइयोस्,“ सांसद विकले माग गरिन्।