काठमाडौं । दुई दिन सार्वजनिक बिदाको निर्णय तत्काल फिर्ता लिन राष्ट्रियसभाका सांसदहरुले माग गरेका छन् । सोमबार बसेको राष्ट्रियसभा बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग समेत गरे ।
उनले कर्मचारीलाई सरकारले करिब तीन दिनसम्म ‘बेरोजगार’ राखेर मुलुकमा बेथिति निम्त्याउन खोजेको जिकिर गरे । निर्णय फिर्ता लिनुपर्नेमा उनले जोड दिए । उनले विद्यार्थीको पठनपाठनमा पनि उक्त निर्णयले असर गर्ने भन्दै आपत्ति जनाए ।
सांसद सावित्री मल्लले खाने पकाउने ग्याससहित पेट्रोललगायत इन्धनमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारलाई दबाब दिइन् । उनले बजारमा महँगी र दैनिक उपभोग्य वस्तुको समेत अभाव भएकाले त्यसलाई सहज र सुलभ बनाउने काममा पनि सरकारले तत्काल आवश्यक निर्णय लिनुपर्ने बताइन् । सांसद मल्लले सरकारले मूल्यवृद्धि नियन्त्रण गरेर आमउपभोक्तालाई मारबाट पार लगाउनुपर्नेमा जोड दिइन् ।