काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी सभापति गगन थापाको ससुरा भएकै कारण अवसर पाएको भनेर हुने गरेको टिप्पणीले आफू फरक नपर्ने बताएका छन् ।
पछिल्लो समय सभापति थापाको सुसुरा भएका कारण समानुपातिकतर्फ सांसद भएको टिप्पणीप्रति इंगित गर्दै उनले यस्तो बताएका हुन् ।
वि.स. २०१७ पुस १ गते राजा महेन्द्रले गरेको ‘कू’ विरुद्ध पर्चा बाँड्दै गर्दा आफूले जेल जीवन सुरु गरेको र पार्टी जीवनमा आफ्नो छुट्टै पहिचान भएको उनको दाबी छ ।
उनले पार्टी निर्माण र लोकतन्त्र संस्थागत गर्न आफूले गरेको योगदानबारे थाहा नभएकाहरूले सभापति थापाको ससुराको रूपमा मात्र चिन्ने गरेको भन्दै तिनीहरूलाई जवाफ दिइरहनुनपर्ने बताए ।
उनले पशुपति दर्शन छिद्रको व्यापार भनेजस्तै आफ्नो नाम सभापति थापासँग जोडेर हुने गरेको टीकाटिप्पणीहरू बनिबनाउ षड्यन्त्र भएको बताए ।
नेपाली कांग्रेसभित्रैबाट आफ्नो पहिचान गगन थापाको ससुराको रूपमा मात्र सीमित गर्ने प्रयास गरिएको भन्दै आपत्ति समेत जनाए । पार्टी निर्माण र व्यवस्था पुनः स्थापनाका लागि आफूले गरेको योगदानबारे सबैलाई जानकारी गराएर सञ्चारकर्मीहरूले आफूलाई न्याय गर्नुपर्ने उनको भनाइ छ ।
आफू रूपान्तरण र पुस्तान्तरणको वकालत गर्ने भएकै कारण विशेष अधिवेशनको पक्षमा उभिएको दाबी समेत उनको छ । उनले कांग्रेस बद्लिएको हेर्न नचाहनेहरुले आफूमार्फत सभापति थापामाथि प्रहार गर्न खोजेको भन्दै त्यसले केही फरक नपर्ने बताए ।