काठमाडौँ । प्रतिनिधिसभा सदस्य खुस्बु ओलिले कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरी समक्ष औपचारिक सरोकार पत्र बुझाएकी छन्। आफ्नो निर्वाचन क्षेत्रमा भएको समस्यका विषयमा सरोकार पत्र पेश गरेकी हुन । झापा गाउँपालिकाका कृषकहरूले भोग्दै आएका समस्या र हालैका प्राकृतिक विपद्बाट भएको क्षतिको सम्बोधनका लागि कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरी समक्ष औपचारिक सरोकार पत्र पेश गरिएको खुस्बु ओलिले जानकारी दिएकी छन् ।
आज शुक्रबार मन्त्रालयमा दर्ता गरिएको उक्त पत्रमा निरन्तरको प्राकृतिक प्रकोपका कारण कृषिबालीमा ठुलो क्षति पुगेको उल्लेख गर्दै झापा गाउँपालिकालाई ‘प्राकृतिक संकटग्रस्त क्षेत्र’ घोषणा गर्न विशेष माग गरिएको छ।
सरोकार पत्रमा नेपाल सरकारले तोकेका बीमा कम्पनीहरूले किसानको बाली बीमा गर्न आलटाल गर्ने गरेको र उत्तरदायी नबनेको विषयलाई कडा रूपमा उठान गरिएको छ। विशेष गरी झापा गाउँपालिकाको पकेट क्षेत्र मानिने व्यावसायिक केरा र मकै खेतीमा भएको करोडौँको क्षतिको यथार्थ मूल्याङ्कन गरी बीमा कम्पनीहरूलाई जवाफदेही बनाउनुपर्नेमा जोड दिइएको छ।
भेटका क्रममा मन्त्री चौधरीले मन्त्रालयका सचिवसँग समन्वय गरी कृषि बीमामा लापरबाही गर्ने संस्थाहरूलाई कानुनी दायरामा ल्याउने र किसानलाई उचित क्षतिपूर्ति दिलाउने प्रक्रिया अगाडि बढाउने स्पष्ट पारेकी छन् ।