काठमाडौँ । गत फागुन २१ गते भएको निर्वाचनमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने ६ दलमध्ये कांग्रेसले अहिले सम्म संसदीय दलको नेता चयन गर्न सकिरहेको छैन् । संसद्मा ६ दलको प्रतिनिधित्व रहेकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको नेता चयन गरिसक्दा अन्तरकलहका कारण कांग्रेसको दल नेता चयन गर्न सकेको छैन् ।
नवनिर्वाचित संघीय संसद्को पहिलो बैठक बिहीबारबाट सुरु भएको छ । पहिलो दिनको बैठकमा सबै दलका संसदीय दलका नेता तथा शीष नेताले सम्बोधन गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनअघि नै बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेकाले पार्टीको तर्फबाट शाह नै संसदीय दलको नेता बनेका छन् ।
संसद्को दोस्रो ठुलो दल एमालेले बुधबार उपाध्यक्ष रामबहादुर थापालाई संसदीय दलको नेता चयन गरेको छ । यस्तै तेस्रो ठुलो दल नेकपाले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दलको नेतामा चयन गरेको छ । राप्रपाले ज्ञानेन्द्र शाही र श्रम संस्कृति पार्टीले अध्यक्ष हर्कराज राई (साम्पाङ)लाई दलको नेता बनाएको छ ।
सबै दलले संसदीय दलको नेता चयन गरिसक्दा दोस्रो ठुलो दल कांग्रेसमा आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ ।निर्वाचनलगत्तैदेखि सुरु भएको कांग्रेसको आन्तरिक विवाद अझै मत्थर भएको छैन । विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिको अस्तित्व पुरानो संस्थापन पक्षले स्वीकार नगर्दा कांग्रेसभित्र द्वन्द्व बढ्दो छ । यसै कारण पनि संसदीय दलको नेता चयन प्रभावित भएको कांग्रेस नेताहरूको भनाइ छ । विशेष महाधिवेशनको पक्षमा रहेका नेताहरूमा अर्जुननरसिंह केसी, भरतबहादुर खड्का र मोहन आचार्यको नामसमेत दल नेतामा चर्चामा छ ।