काठमाडौँ । प्रतिनिधि सभाको सभामुख चयनका लागि आज मनोनयन दर्ता हुँदै गर्दा राजनीतिक दलहरूले आफ्नो रणनीति तय गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीले सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छन् ।
शुक्रबार बसेको कांग्रेसका शीर्ष नेताहरूको बैठकले सभामुखमा उम्मेदवारी नदिने औपचारिक निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले बताए । यस्तै नेकपाले पनि सभामुख पदका लागि उम्मेदवारी नदिने निर्णय गरेको छ भने उपसभामुख पदमा आफ्नो दाबी प्रस्तुत गर्ने जनाएको छ। उता नेकपा एमालेले विपक्षीको उम्मेदवारी नपरेको खण्डमा आफ्नै उम्मेदवार उठाउने तयारी गरेको छ।
यता नेकपा एमालेले भने विपक्षी दलहरूको कदमलाई नियालिरहेको छ। एमाले सांसद ऐन महरका अनुसार, यदि विपक्षी दलहरूका तर्फबाट कसैले उम्मेदवारी दर्ता गरेमा एमालेले समर्थन गर्न सक्छ। तर, कसैको पनि उम्मेदवारी नपरेको खण्डमा एमालेले आफ्नै उम्मेदवार दर्ता गर्नेछ। एमालेले यस्तो अवस्थामा उपाध्यक्ष गुरु बराललाई सभामुखको उम्मेदवारका रूपमा अघि सार्ने तयारी गरेको छ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले भने उपसभापति डीपी अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गर्दै मनोनयन दर्ता गरिसकेको छ। हालको संसदको अंकगणित अनुसार विपक्षी दलहरू एकजुट भए पनि अर्यालले नै जित्ने सम्भावना बलियो देखिएको छ। सभामुखको निर्वाचनका लागि आज दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ।