काठमाडौँ । नेपाली काङ्ग्रेसले जेन्जी आन्दोलनका क्रममा भएको घटनाको छानबिन प्रतिवेदन अध्ययन गर्न वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा एक उच्चस्तरीय अध्ययन समिति गठन गरेको छ।
संवत् २०८२ भाद्र २३ र २४ गते भएको उक्त आन्दोलन र त्यस क्रममा घटेका घटनाहरूको सम्बन्धमा गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगले नेपाल सरकार समक्ष पेश गरेको प्रतिवेदनमाथि अध्ययन गर्न यो समिति बनाइएको हो।
काङ्ग्रेस केन्द्रीय कार्यालयका अनुसार, खनाल नेतृत्वको समितिले सरकारी आयोगको प्रतिवेदन अध्ययन गरी आवश्यक राय, सल्लाह र सुझाव सहितको प्रतिवेदन सात दिनभित्र पार्टीको केन्द्रीय कार्यालयमा पेश गर्नुपर्ने कार्यादेश पाएको छ।
वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा प्रतिवेदन अध्ययन समिति तयार गरेको छ । जसको सदस्यमा पूर्व न्यायाधीश श्री कृष्णप्रसाद पौडेल, अधिवक्ता श्री विनोद कार्की, अधिवक्ता श्री रामचन्द्र गौतम (आर.सी.), युवा अभियन्ता श्री यजश्वी राईलाई सदस्य तोकिएको काङ्ग्रेसले जानकारी दिएको छ ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार, यो समितिले आन्दोलनका क्रममा भएका मानवीय तथा अन्य क्षति र त्यसको कानुनी एवं राजनीतिक पक्षको सूक्ष्म विश्लेषण गर्नेछ।
युवा पुस्ताको सहभागिता रहेको उक्त आन्दोलनले मुलुकको राजनीतिमा तरङ्ग ल्याएको थियो, जसको यथार्थ विवरण बाहिर ल्याउन काङ्ग्रेसले यो तत्परता देखाएको हो