काठमाडौँ । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाको सातौँ अधिवेशन आह्वान गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सिफारिस बमोजिम आगामी २४ चैत दिउँसो ४ बजे बस्ने गरी अधिवेशन आह्वान गरिएको हो।
बुधबार मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा मुख्यमन्त्री शाहले नेपालको संविधानको धारा १६६ को उपधारा (२) बमोजिम बिहीबार औपचारिक सिफारिस पत्र पठाएका थिए।
प्रदेश प्रमुख मियाँले सरकारको सिफारिस प्राप्त भएलगत्तै संवैधानिक व्यवस्था अनुसार अधिवेशन आह्वान गरेका हुन्। यस अधिवेशनमा प्रदेशका समसामयिक राजनीतिक मुद्दाहरू, बजेटका पूर्वतयारी र विचाराधीन विधेयकहरूमाथि छलफल हुने अपेक्षा गरिएको छ।
पछिल्लो समय सुदूरपश्चिमको राजनीतिमा विकसित घटनाक्रम र सरकारको प्रभावकारिताका विषयमा यो अधिवेशनलाई निकै चासोका साथ हेरिएको छ।