काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा गृहमन्त्री सुधन गुरुङ ले तीनवटा अध्यादेश पेस गरेका छन्। सभाको पहिलो अधिवेशनको बैठकमा दलीय आधारमा सदस्यहरूले मन्तव्य राखिसकेपछि नियमित कार्यसूची अनुसार उनले ‘नागरिकता सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश, २०८२’ पेस गरेका हुन्।
यसैगरी, समानुपातिक बन्द सूचीमा जनसंख्याको आरक्षण सुनिश्चित गर्न अध्यादेशमार्फत कानुनमा संशोधन गरिएको छ। गत फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन मिति तोकिएपछि मतदाता नामावली अपडेट गर्न ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश’ ल्याइएको थियो। गृहमन्त्रीले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत गृह मन्त्रालयमा राख्न ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश’ जारी भएको जानकारी पनि दिएका छन्। बैठकमा संविधानसभा तथा राष्ट्रियसभाका सदस्यहरूको निधनप्रति शोक प्रस्ताव पारित भएको छ। प्रतिनिधिसभाको अर्को बैठक यही चैत २२ गते आइतवार बिहान ११ः०० बजे बस्नेछ।