काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डिपी) प्रतिनिधि सभाको सभामुख बन्ने निश्चित भएको छ।
प्रतिनिधि सभामा सबैभन्दा ठुलो दलको हैसियतमा रास्वपाले सरकारको नेतृत्व गरिसकेको अवस्थामा अर्याललाई सभामुख बनाउने तयारी पुरा भएको हो।
सभामुखको जिम्मेवारी सम्हाल्नुअघि उनले पार्टीको उपसभापति पदबाट राजीनामा दिने बुझिएको छ। संवैधानिक व्यवस्था अनुसार सभामुख पदमा निर्वाचित व्यक्ति कुनै पनि राजनीतिक दलको सदस्य रहन नपाउने भएकाले उनले पार्टीको जिम्मेवारी त्याग्न लागेका हुन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले भोलि १९ गते दिउँसो २ बजेका लागि संघीय संसद्का दुवै सदनको बैठक आह्वान गरेका छन्। हाल प्रतिनिधि सभाको अध्यक्षता ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले गर्दै आएका छन्। भोलिको बैठकपछि सभामुख र उपसभामुख चयनको प्रक्रिया औपचारिक रूपमा सुरु हुनेछ।
संविधान अनुसार सभामुख र उपसभामुख फरक–फरक दल र फरक–फरक लिङ्गको हुनुपर्ने प्रावधान छ। रास्वपाबाट डिपी अर्याल सभामुख बन्ने भएपछि उपसभामुख पद अन्य दलको भागमा पर्ने देखिएको छ।