काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनका क्रममा जनतासामु गरिएका वाचाहरू वर्तमान सरकारले पूरा गर्ने बताएका छन्। बुधबार बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले चुनावका बेला सार्वजनिक गरिएको वाचापत्र अनुसार नै सरकार अघि बढ्ने दाबी गरेका हुन् । रास्वपाका सभापति रवि लामिछानेले निर्वाचनका क्रममा जनतासामु गरिएका वाचाहरू वर्तमान सरकारले पूरा गर्ने बताएका छन्।
‘हामी जनतालाई दिएको वाचा बोकेर नै सरकारमा गएका हौँ, ती सबै प्रतिबद्धताहरू पूरा गर्छौँ,’ लामिछानेले भने।
सिमरा हुँदै वीरगन्ज आइपुगेका लामिछानेले बुधबारै पर्सा जिल्ला अदालतमा उपस्थित भई तारेख बुझेका छन्। उनी विरुद्ध पर्सामा दर्ता भएको सानो पाइला सहकारी ठगी प्रकरणसँग सम्बन्धित मुद्दामा तारेख बुझ्न उनी अदालत पुगेका हुन्।
अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार लामिछानेले आवश्यक कानुनी प्रक्रिया पूरा गरी तारेख बुझेका छन्। अदालतमा उपस्थित भएर प्रक्रिया सकेलगत्तै उनी अपराह्न काठमाडौँ फर्किएका छन्। लामिछानेको उपस्थितिलाई मध्यनजर गर्दै बुधबार बिहानैदेखि अदालत परिसरमा सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो।