काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घात गर्ने नेता तथा कार्यकर्तालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा बुधबार पार्टी कार्यालयमा बसेको बैठकले अनुशासन उल्लंघन गर्ने ५०७ जना जनालाई छानबिन अघि बढाउँदै सफाइ पेस गर्न निर्देशन दिएको हो।
बैठकपछि समितिका सचिव दिनेश थापा मगरद्वारा जारी विज्ञप्तिमा निर्वाचनका क्रममा अनुशासन उल्लंघन गरेको भन्दै विभिन्न जिल्ला र उम्मेदवारहरूबाट हालसम्म ५०७ जनाविरुद्ध उजुरी परेको छ। उनिहरुलाई ७ दिनभित्र आफ्नो स्पष्टीकरण पेस गर्न समितिले निर्देशन दिएको छ ।
यसैगरी, बैठकले पार्टीको नक्कली लेटरप्याड प्रयोग गरी भ्रम फैलाउनेलाई पनि कारबाहीको चेतावनी समेत दिएको छ। गत चैत १४ गते कसैले आफूसँग हुँदै नभएको जिम्मेवारी उल्लेख गरी नक्कली लेटरप्याडमार्फत अनधिकृत वक्तव्य जारी गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै समितिले त्यस्तो कार्य गर्नेलाई सचेत गराएको छ।
आगामी दिनमा यस्तो गलत गतिविधि गर्ने जोकोहीलाई पनि पार्टी विधान र प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने चेतावनी कांग्रेसले दिएको छ। साथै, निर्वाचनका क्रममा भएका अनुशासन उल्लंघनका घटनामा उजुरी दिन बाँकी रहेको भए चैत मसान्तभित्र केन्द्रीय अनुशासन समितिमा पठाइसक्न निर्देशन दिइएको छ।
