काठमाडौँ । नेपाली कांग्रेसको विवाद फेरि छताछुल्ल भएको छ । नेपाली कांग्रेसको आधिकारिता विवाद अदालतमा विचाराधीन रहँदा पूर्वसभापति शेरबहादुर देउवा पक्षले समानान्तर गतिविधिमा सक्रिय भएका छन् । गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय समिति र १४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समिति आमनेसामने भएको छ।
देउवा पक्षले पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक मंगलबार आज बोलाएको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा बिहान ११ बजे बैठक बस्दैछ । तत्कालीन मुख्यसचिव कृष्ण पौडेलले बैठकमा उपस्थित हुन सबैलाई टेलिफोन गरेका हुन्। बैठक मंगलबार र बुधबार दुई दिनसम्म चल्ने छ।
बैठकमा गत पुसमा भएको विशेष महाधिवेशन स्वीकार नगरेका प्रदेश कार्यसमिति सभापतिहरूलाई पनि बोलाइएको छ ।यसैबीच, खड्काले आगामी बिहीबार जिल्ला सभापतिहरुको भेला पनि बोलाएका छन् । देउवा–शेखर समूहले सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभामा नवनिर्वाचित सांसदहरुलाई बधाइ तथा शुभकामना कार्यक्रम गरेको थियो ।