काठमाडौँ । काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्। मंगलबार बिहान काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सुविधानगरस्थित निवासबाटै नियन्त्रणमा लिएको हो।
कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा अनुसन्धान अघि बढाउने क्रममा रिजाललाई पक्राउ गरिएको हो। उक्त आन्दोलन भदौ २३ र २४ गते हुँदा उनी काठमाडौंका सिडिओका रूपमा कार्यरत थिए। जाँचबुझ आयोगको सिफारिसका आधारमा मुलुकी अपराध संहिता २०७४ को दफा १८२ अन्तर्गत ‘हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने’ कसुरमा उनीमाथि अनुसन्धान भइरहेको छ। यस कसुरमा दोषी ठहर भए अधिकतम तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ।यसअघि सोही प्रकरणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसमेत पक्राउ परिसकेका छन्।