काठमाडौँ । सरकारले संविधान संशोधनका लागि आवश्यक बहसपत्र तयार पार्न एक उच्चस्तरीय कार्यदल गठन गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम साहको संयोजकत्वमा उक्त कार्यदल गठन गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार, यस कार्यदलमा संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूलाई सदस्यका रूपमा समावेश गरिनेछ। यो कदम सरकारले आफ्नो चुनावी वाचापत्रमा उल्लेख गरेको प्रतिबद्धता अनुरूप नै चालिएको प्रवक्ता पोखरेल बताए।
संविधान जारी भएको एक दशक पुग्नै लाग्दा यसमा देखिएका व्यावहारिक जटिलता र समसामयिक सुधारका विषयमा राष्ट्रिय सहमति जुटाउन यो कार्यदलले गृहकार्य गर्ने बताइएको छ। कार्यदलले राजनीतिक दल, नागरिक समाज र सरोकारवालाहरूसँग छलफल गरी एउटा विस्तृत बहसपत्र तयार पार्ने जिम्मेवारी पाएको छ।
विशेष गरी शासकीय स्वरूप, निर्वाचन प्रणाली र संघीयता कार्यान्वयनका क्रममा देखिएका अस्पष्टताहरूलाई सम्बोधन गर्न यो पहललाई अर्थपूर्ण रूपमा हेरिएको छ। कार्यदलमा रहने अन्य सदस्यहरूको नामावली र कार्यक्षेत्र ९त्यच्० भने थप प्रक्रियापछि सार्वजनिक गरिनेछ।