काठमाडौँ । लुम्बिनी प्रदेश सभा सदस्य रेखाकुमारी शर्मा पक्राउ परेकी छन्। बालबालिका सम्बन्धी कसुरमा अनुसन्धानका लागि उनलाई काठमाडौंबाट नियन्त्रणमा लिइएको हो।
शर्मा पक्राउ परेको विषयमा लुम्बिनी प्रदेश सभा सचिवालयले सोमबार औपचारिक सूचना जारी गर्दै जानकारी गराएको छ। सचिवालयका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंको पत्रका आधारमा उक्त सूचना प्रकाशित गरिएको जनाएकाे छ ।
सचिवालयले जारी गरेको सूचना अनुसार सांसद शर्मालाई २०८२ चैत १५ गते आइतबार राति करिब ११ बजे पक्राउ गरिएको थियो। नेपाल सरकार वादी रहेको बालबालिका सम्बन्धी कसुरको मुद्दामा उनीमाथि अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।
सभामुखको आदेशानुसार लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२६ को उपनियम (२) बमोजिम प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले यसबारे औपचारिक जानकारी गराएका हुन्।
सांसद शर्मामाथि नाबालिकालाई घरेलु कामदारका रूपमा राखेको र बालबालिकाको हकअधिकार उल्लंघन गरेको (बालबालिका सम्बन्धी कसुर) आरोप लागेको छ। सोही अभियोगमा उनीमाथि अनुसन्धान भइरहेको बताइएको छ।
प्रदेश सभाले पक्राउको सूचना जारी गरेसँगै अब उनले प्रदेश सभा सदस्यका रूपमा कुनै पनि बैठक वा संसदीय गतिविधिमा सहभागी हुन पाउने छैनन्। यद्यपि, उनी हालसम्म निलम्बन मा भने परेकी छैनन्।
प्रदेश सभा ऐन अनुसार सांसद पदबाट निलम्बन हुनका लागि फौजदारी अभियोग प्रमाणित हुनुपर्ने वा नैतिक पतन देखिने गरी अदालतबाट दोषी ठहर हुनुपर्ने प्रावधान छ। हाल उनी न्यायिक हिरासतमा रहेकाले उनको सदस्यको हैसियतमा हुने कार्यहरू मात्र स्थगित भएका हुन्।
