काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल रिहा गर्न अस्वीकार गरेको छ। उनलाई हिरासतमुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै अदालतले सरकारका नाममा ’कारण देखाऊ’ आदेश मात्र जारी गरेको हो।
सोमबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले लेखकलाई थुनामा राख्नुको कारण र कानुनी आधार पेस गर्न सरकारलाई आदेश दिएको छ। यद्यपि, रिट निवेदकको माग बमोजिम उनलाई तत्कालै रिहा गर्ने अन्तरिम आदेश दिन भने इजलासले अस्वीकार गरेको छ।
रमेश लेखकलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै उनकी पत्नी यशोदा लेखकले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिईन । रिटमा उनलाई तत्काल रिहा गर्न परमादेशको माग गरिएको थियो। सर्वोच्चको यो आदेशसँगै अब सम्बन्धित सरकारी निकायले लेखकलाई कुन अभियोगमा र किन थुनामा राखिएको हो भन्नेबारे लिखित जवाफ अदालतमा पेस गर्नुपर्नेछ। सरकारको जवाफ प्राप्त भएपछि मात्रै उक्त रिटमाथि थप बहस र अन्तिम निर्णय हुने प्रक्रिया रहेको छ।