काठमाडौँ । इलाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले इलामको कृषि र पर्यटन क्षेत्रको सम्भावनालाई प्राथमिकता दिए देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुग्ने बताएका छन्।
सोमबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले कोशी प्रदेशका सांसदहरूसँग गरेको छलफलका क्रममा नेम्वाङले आफ्नो क्षेत्रका समस्या र सम्भावनाबारे जानकारी गराएका हुन्। उनले इलामको कृषि उत्पादन र पर्यटन विकासलाई सशक्त बनाइए देशको आर्थिक अवस्थामा सकारात्मक प्रभाव पर्ने उल्लेख गर्दै बीउदेखि बजारसम्म सरकारको सक्रिय भूमिका आवश्यक रहेको बताए। यससँगै नेम्वाङले पूर्वाधार विकास, विपद् व्यवस्थापन, शिक्षा र प्रविधिसम्बन्धी चुनौतीहरूबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराए। उनले दमक–चिसापानी सडकखण्डको ठेक्का विवादबारे जानकारी दिँदै अदालतबाट मेलमिलापका लागि पठाइएको र अब छिट्टै ठेक्का प्रक्रिया अघि बढाउन आवश्यक रहेको उल्लेख गरे। साथै, बेलासे सडकखण्डको अवस्थाबारे पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। विगतमा विपद्का बेला संकटग्रस्त क्षेत्र घोषणा गरिएको प्रसंग स्मरण गराउँदै उनले हालको अवस्थाप्रति पनि सरकारको ध्यान जानुपर्ने बताएका छन्।