काठमाडौं । पक्राउ परेका नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका खड्कालाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो।जेनजी आन्दोलनका क्रममा खड्काको घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए । आगजनीपछि उनको घरमा नेपाली र विदेशी नोट जलेको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थियो ।
यसै विषयमा अनुसन्धान गर्न उनलाई हिजो बिहानमात्रै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट खटिएको टोलीले खड्कालाई पक्राउ गरेको थियो । पक्राउपछि विभागले अदालतबाट ७ दिनको म्याद लिएर उनलाई प्रहरी प्रभाग पुल्चोकको हिरासतमा राखेको थियो ।
गएराति साढे १२ बजेतिर बान्ता भएपछि अनुसन्धान अधिकृतसँगको समन्वयमा उनलाई नर्भिक अस्पताल लगिएको थियो । तर स्वास्थ्य अवस्था सामान्य नभई निरन्तर बान्ता भइरहेपछि नर्भिकले थप उपचारका लागि शिक्षण अस्पताल रिफर गरेको जनाएको छ । अहिले शिक्षण अस्पतालमा भर्ना गरेर उनको उपचार भइरहेको जनाइएको छ ।